काठमाण्डौं । स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गरेर निर्वाचन आयाेगले आचरसंहिता बनाएको छ । आयाेगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने, पदाधिकारीले प्रचारप्रसार गर्न नपाउने व्यवस्था सहित आचरसंहिता बनाएको हो ।
बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन सम्बन्धि आचारसंहितामा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्वमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ ।
बैशाखमा हुने निर्वाचनमा वहालवाला जनप्रतिनिधि समेत अर्को कार्यकालका लागि उम्मेदवार बन्ने चर्चा चलिरहँदा यस्तो व्यवस्था गरिएको आयाेगका प्रवक्ता शालिकराम शर्माले बताए । निर्वाचनमा सरकारी स्रोत र साधनको दुरुपयोग हुन नदिन यस्तो व्यवस्था गरिएको हाे ।
प्रवक्ता शर्माका अनुसार ७३ वटा साना राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्राप्त गर्नका लागि जिल्लास्तरमा संगठनकाे संरचना र जिल्ला समितिको विवरण समेत चैत्र ६ गतेभित्र आयाेगमा पेस गर्न पत्राचार गरिएको वताए । यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरूले स्वेच्छिक चिन्ह लिएर उठ्नुपर्ने नियम रहेको थियो ।