काठमाडौ । पत्रकारिताको पेशा छाडेर रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामको राजनीतिक दल गठन गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरि उनले राजनीतिक दल घोषणा गरेका हुन् ।
लामिछाने लामो समयसम्म पत्रकारिता पेशामा आबद्ध रहेर काम गर्दै गर्दा राजनीतिक तर्फ होमिएका हुन् । उनले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नयाँ राजनीतिक पार्टी गठन गरेका हुन् ।
उनले पार्टी घोषणा कार्यक्रममा आफू व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न राजनीतिमा आएको दाबी गरे । आफू ठूलो काम गर्न नभई आममान्छेका स–साना समस्या समाधान गर्न राजनीतिमा लागेको पनि उनले दाबी गरे । उनले पत्रकारिता क्षेत्रमा रहदै गर्दा जनताकै आवाजलाई समेटेर पत्रकारिता गरिदै आएको बताए ।
त्यसैगरी, उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामको राजनीतिक दल दर्ता गराउन निर्वाचन आयोगमा निवेदन दिइसकेको बताए । आफ्नो दलको नाम र निर्वाचन चिन्ह घण्टी छनौट गरि पठाएको हुदा आयोगले छिट्टै आधिकारिकता दिने विश्वास व्यक्त गरे ।