काठमाडौँ । संयुक्तराज्य अमेरिकाले युक्रेनलाई ८२ डलर करोड बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । युक्रेनले पश्चिमा सहयोगी राष्ट्रहरूलाई तत्काल सहयोग उपलव्ध गराउन गरेको आह्वानको जवाफमा अमेरिकाले नयाँ सैन्य सहयोगको घोषणा गरेको हो ।
पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर जनजीवन अस्तब्यस्त पारेको छ । रूसी फौजको निरन्तर आक्रमणबाट भयभीत भएको युक्रेनी नेताहरूले सहयोगको लागि सार्वजनिक रूपमा अपिल गरेको थियोे । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीसहित गोलाबारुद्व लगायत युद्धका सामग्रीहरु समावेश गरिएको छ ।
रूसी सेनालाई परास्त गर्न अमेरिकासहितका पश्चिमा देशबाट युक्रेनले थप मद्दत मागेका थिए । उनीहरूले रूसी आक्रमणपछि करिब सात अर्ब डलरको सहायता घोषणा गरिसकेका छन् । शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको अधिकांश सहायता युक्रेन पुग्न हप्ता वा महिना लाग्नेछ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नयाँ सैन्य सहयोग घोषणा गरेकामा अमेरिकी राष्ट्रपतिप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
#एजेन्सी