गुरुङ विद्यार्थीको एघारौ राष्ट्रिय सम्मेलन काठमाडौमा हुने



साउन १७, २०७९, काठमाडौ । गुरुङ विद्यार्थीको एघारौ राष्ट्रिय महाधिवेशन काठमाडौमा हुनेभएको छ । आगामी भदौ २४ र २५ गते नयाँ बसपार्क स्थित तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्को भवनमा केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

एघारौ महाधिवेशनका लागि “मातृभाषामा शिक्षाको सुनिश्चितता हाम्रो अभियान ! उत्पादन र रोजगार लक्षित शिक्षा नीतिको पक्षमा ११औ राष्ट्रिय महाधिवेशन !!” भन्ने मुलनारा राखिएकोछ । देशभर करिव ५२ जिल्लामा संगठित रहेको संगठनले केन्द्रीय महाधिवेशनबाट आगामी दुई वर्षा कार्यकालको लागि नयाँ कार्यसमिति समेत निर्वाचित गरी सम्पन्न गरिनेछ ।

त्यसैगरी, केन्द्रीय समितिले महाधिवेशन तयारीको लागि केन्द्रीय अध्यक्ष पुकार गुरुङको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न तेह्र वटा उपसमिति समेत गठन गरिएकोछ । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि सबै तमु संघसस्थालाई सहयोगको लागि आग्रह गरेकोछ । मातृसंस्था तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिलाई समेत औपचारिक जानकारी गरिसकेको संयोजक पुकार गुरुङले बताए ।

महाधिवेशन आयोजक समितिले साउन ७ गते शनिवार उपत्यकामा रहेको गुरुङ संघसंस्थाहरु वीच भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरी महाधिवेशन सफल पार्नको लागि आह्वान समेत गरेकोछ । महाधिवेशनमा करिव पाँच सय जना विद्यार्थी प्रतिनीधि, पर्यवेक्षक तथा सहभागी रहने संयोजक गुरुङले जानकारी दिए । सो कार्यक्रम सम्पन्न गर्नको लागि ८ लाख ८४ हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।

आयोजक समितिले २०७९ भदौ १५ गतेभित्र जिल्लाहरुको गठन, पुर्नगठन र अधिवेशन सम्पन्न गरी २० गते अगावै प्रतिनीधिहरुको विवरण पठाईसक्नु पर्ने कार्यतालिका बनाएको छ । त्यसअनुसार भदौ २३ गते अन्तिम प्रतिनीधि तथा सहभागीहरुको टुंगो लगाई २४ गते कार्यक्रमको औपचारिक उद्घाटन र २५ गते बन्दशस्त्र गरी महाधिवेशन सम्पन्न गरिने आयोजक समितिले जनाएको छ ।

महाधिवेशनमा जिल्लाको प्रतिनीधि तथा पर्यवेक्षक सहभागिताको लागि छुट्टै मापदण्ड बनाई सक्रियता र बहुल्यता हेरी क, ख र ग गरि तिन समुहमा विभाजित गरिएको छ । त्यसैअनुसार दायित्व पनि क्रमश २० हजार, १० हजार र ६ हजार तोकिएको छ भने प्रतिनीधि शुल्क प्रतिव्यक्ति रु एक हजार रुपैया तोकिएको छ ।

वि.स. २०५२ साल माघ २६ र २७ गते वुटवलमा सम्पन्न प्रथम सम्मेलनबाट भिम गुरुङको अध्यक्षतामा नेपाल तमु विद्यार्थी छोंज धीँ साझा सामाजिक संगठनका रुपमा स्थापना गरिएको हो । सो संगठन विद्यार्थीको हकहित, अधिकार र सँस्कार संस्कृति संरक्षण गर्ने मुल उद्धेश्यका साथ स्थापना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार