भदौ २, २०७९, काठमाडौ । तमु विद्यार्थीको एघारौ राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पार्न पत्रकार सम्मेलन सम्पन्न गरेको छ । आगामी भदौ २४ र २५ गते हुन गैईरहेको एघारौ महाधिवेशन तयारीवारे जानकारी दिन पत्रकार सम्मेल आयोजना गरिएको हो ।
बुधवार मित्रपार्क स्थित केन्द्रीय कार्यलयमा आयोजित मातृसंस्था तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय उपमहासचिब राजु गुरुङको प्रमुख अतिथ्य र केन्द्रीय सचिव एवं युवा तथा विद्यार्थी विभाग प्रमुख जि एस गुरुङको विशेष अतिथ्यमा पत्रकार सम्मेलन सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा गुरुङ महिला परिषदका केन्द्रीय कोषाध्यक्ष सिता गुरुङ, विद्यार्थीका पुर्व कोषाध्यक्ष खिलबहादुर गुरुङ लगायत रोधीँ डिजिटल, तारकेश्वर खवर, अनलाइन खवर, गुनासो चौतारी, रेडियो गोर्खा, नमस्ते अनलाइन टिभी, गौरीशंकर टाइम्स र सेतोपाटीका मिडियाकर्मीहरु सहभागी रहेको महाधिवेशन संयोजक पुकार गुरुङले जानकारी दिए ।
विद्यार्थीको एघारौ महाधिबेशन आगामी भदौ २४ र २५ गते काठमाडौमा हुनलागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । सो कार्यक्रममा देशको ५२ जिल्लाबाट करिव पाँच सय विद्यार्थी प्रतिनीधि, पर्यवेक्षक तथा सहभागी हुने संयोजक गुरुङले जानकारी दिए । कार्यक्रममा सहभागिलाई आवास, खानाखाजाको लागि तमु होटल व्यावसायी संघ तथा विभिन्न तमु संघसंस्थाले व्यावस्थापन गरी मातृ संस्थाले संयोजन गरिने र कार्यक्रम सम्पन्न गर्न करिब ८ लाख ८४ हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
त्यसैगरी, “मातृभाषामा शिक्षाको सुनिश्चितता हाम्रो अभियान ! उत्पादन र रोजगार लक्षित शिक्षा नीतिको पक्षमा ११औ राष्ट्रिय महाधिवेशन !!” भन्ने मुलनारा सहित विभिन्न तेह्र वटा उपसमिति गठन गरिएको छ । पत्रकार सम्मेलन मार्फत महाधिबेशनलाई सफलतापूर्वक सम्पन्न गर्न गुरुङ समुदायको सम्पुर्ण अग्रज, युवा, विद्यार्थी, अभिभावक, शिक्षक, समाजसेवि, विभिन्न तमु संघसंस्था, आदिवासी जनजातिसंग आबद्ध संस्थाहरु, सरकारी निकाय, विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि, पत्रकार लगायत सवैमा अनुरोध गरेको संयोजक गुरुङले बताए ।
आयोजक समितिले २०७९ भदौ १५ गतेभित्र जिल्लाहरुको गठन, पुर्नगठन र अधिवेशन सम्पन्न गरी २० गते अगावै प्रतिनीधिहरुको विवरण संकलन गरी भदौ २३ गते अन्तिम प्रतिनीधि तथा सहभागीहरुको टुंगो लगाइनेछ । त्यसपछि २४ गते औपचारिक उद्घाटन समारोह र २५ गते बन्दशस्त्र मार्फत नयाँ कार्यसमिति निर्वाचित गरी महाधिवेशन सम्पन्न गरिने मुल आयोजक समितिले जनाएको छ ।
महाधिवेशनमा सहभागि हुन जिल्लाको प्रतिनीधि तथा पर्यवेक्षको लागि छुट्टै मापदण्ड बनाएको छ । संगठनको सक्रियता र बहुल्यता हेरी क समुहमा छ वटा जिल्ला ख समुहमा सत्रवटा जिल्ला र ग समुहमा बाँकी सबै जिल्लाहरु रहेको छ । त्यसैअनुसार दायित्व पनि क्रमश २० हजार, १० हजार र ६ हजार तोकिएको छ भने प्रतिनीधि शुल्क प्रतिव्यक्ति रु एक हजार रुपैया तोकिएको छ ।
सो कार्यक्रममा पुर्वकोषाध्यक्ष खिलबहादुर गुरुङले आफ्नो छोरा स्व. कविन गुरुङको स्मृतिमा तमु विद्यार्थीलाई अक्षयकोष स्थापनाको लागि नगद रु एक लाख रुपैया महाधिवेशन मुल आयाेजक समितिका संयोजक पुकार गुरुङलाई हस्तान्तरण गर्नुभयोे । उनले सो कोषलाई वर्षेनि बढाएर दश लाख पुर्याउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।