काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फन पार्क प्रालि लाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय कर, बहाल कर, मनोरन्जन कर र विज्ञापन कर तिर्नका लागि फन पार्कलाई ताकेता गरेको हो ।
महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत् गरिएको पत्राचारमा तोकिएको अल्टिमेटमभित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी दिइएको छ । पत्राचारमा भनिएको छ व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवानासमेत दाखिला गर्नुहुन अनुरोध गरिएकाेछ ।
त्यस्तै, तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने पनि जानकारी गराइएको छ । महानगरका राजस्व विभाग प्रमुख अधिकारीका अनुसार फन पार्कले विगत ७ वर्षदेखि कर तिरेको छैन । उनले भनेका छन् बिहिबार बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएर आएका छौं ।
समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरी विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।