दाेलखा । नेपाली कांग्रेस दोलखाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेद्ववारहरुको नाम सिफारिस गरेको छ । कांग्रेसले संघतर्फ ११ जना र प्रदेशतर्फ २७ गरि ३८ जनाको नाम सिफारिस गरि प्रदेश र केन्द्रमा निर्णय गरेको हो ।
जिल्ला कार्यसमितिले जिल्लाको एक मात्र संघीय निर्वाचन क्षेत्र तर्फ ११ जनाको नाम सिफारिस गरेको छ । जसमा केन्द्रीय सदस्य जिपछिरिङ लामा, कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, जिल्ला सभापति बर्मा लामा, पुर्व जिल्ला सभापति तारा बहादुर कोईराला, रुद्रबहादुर खड्का र उद्धवराज काफ्ले रहेका छन् । लामा हाल संघीय संसदमा समानुपातिक तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । कांग्रेसको विधानमा समानुपातिक उम्मेदवार नदोहोर्याउने व्यवस्था गरिएपछि उनलाई प्रत्यक्षतर्फ चुनाव लड्नुपर्ने बाध्यता रहेको छ । महिलाकाे प्रत्यक्षतर्फ लक्ष्मीकुमार तामाङ र समानुपातिक तर्फ प्रभुराम श्रेष्ठ, पुष्कर कुमार खड्का र सुमित्रा न्यौपानेको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी, प्रदेशसभा तर्फ २७ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेशसभा (क) को प्रत्यक्षतर्फ भविन्द्र कार्की, ताराकुमार खड्का र भुवन केसी, महिलाबाट विनिता अधिकारीको नाम सिफारिस गरिएको छ । प्रदेश समानुपातिकतर्फ शुक्रराज तामाङ, सुदर्शन कार्की, सोनाम शेर्पा, केदार सुनार, हस्तलाल तामाङ योञ्जन र महिलाबाट रोचना उप्रेती, तारा थपलिया, लिलादेवी जिरेल र सुमित्रा पाख्रिन सिफारिसको सुचीमा परेका छन् ।
प्रदेश निर्वाचन क्षेत्र (ख) को प्रत्यक्षतर्फ केशवराज चौलागाई, राकेश श्रेष्ठ, सन्तोष पाण्डे, युधिष्ठिर खड्का, कुलराज थापा र महिलाबाट छिरिङडोमा शेर्पाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ चित्र बहनदुर कार्की, दावा शेर्पा, सिताराम ठकुरी, रामकुमार नेपाली, कविराज थामी र महिलाबाट अनिता श्रेष्ठ, सुनिता नेपाली र मोतिमाया मोक्तानको नाम सिफारिस गरिएको कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठले जानकारी दिए ।