काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै काठमाडौं प्रहरी परिसरमा युवराज पौडेलले दिएका जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो ।
उनलाई राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेलले मंगलबार जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । उनको जाहेरी दर्ता अस्वीकार गर्दै नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआइसकेकाले उजुरी दर्ता गर्न नमिल्ने प्रहरी परिसरका अधिकारीहरुले बताएका छन् ।
पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी दर्ता गर्न गएका थिए । यद्यपि अध्यागमन विभागले पनि जाहेरी दर्ता गरेको छैन । प्रहरीमा दिएकाे जाहेरीमा राहदानी ऐन अनुसार कारवाही हुनुपर्ने माग छ भने अध्यागमन विभागमा ऐन अनुसार कारवाही हुनुपर्ने माग गरेकाे थियाे ।