काठमाडौ । मजदुर संगठनले मंगलबारको बन्द सरकारसँग भएको वार्तापछि फिर्ता लिएका छन् । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतसँगको वार्तापछि मजदुर संगठनले बन्द फिर्ता लिने सहमति भएकाे हाे ।
वार्तामा सहभागी नेपाल यातायात मजदुर संघका महासचिव नुरनाथ पन्तले मन्त्री श्रेष्ठले आफूहरूका माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि मंगलबारको बन्द फिर्ता लिन तयार भएको जानकारी दिए । सोमबार मजदुरहरूले बसपार्क क्षेत्रमा प्रहरीको भ्यान र प्रहरी बिटमा आगजनी समेत गरेका थिए ।
त्यसैगरी, नयाँ बसपार्क व्यवस्थापन जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको ल्होत्से भवनमा समेत तोडफोड भएको थियो । सोमबारको घटनामा संलग्नलाई पहिचान गरी कारबाही गर्ने सहमति भएको छ । मंगलबारको वार्तामा यातायात व्यवस्था विभाग, काठमाडौं जिल्ला प्रशासन कार्यालय र मजदुरका प्रतिनधि सहभागी थिए ।