काठमाडौं । यूएई विरुद्धको खेलमा कीर्तिमानी जित हासिल गरेसँगै नेपालले एकदिवसीय वरियता कायम राखेको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईलाई १ सय ७७ रनले पराजित गरेको हो ।
रनका आधारमा नेपालको यो सबैभन्दा फराकिलो जित हो । यसअघि नेपालले पपुवा न्युगिनीलाई १ सय ५१ रनले पराजित गरेको थियो । यो जितसँगै नेपाल ३६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।
यसअघि चौथो स्थानमा रहेको अमेरिका पाँचौ स्थानमा झरेको छ । अमेरिकाको ३५ अंक छ । लिग-२ का शीर्ष पाँच टोलीको एकदिवसीय वरियता कायम रहनेछ । स्कटल्यान्ड ५० अंक, ओमन ४४ अंक र नामिबिया ३९ अंकसहित शीर्ष तीन स्थानमा छन् । पाँचौ स्थानका लागि अमेरिका र यूएई प्रतिस्पर्धामा छन् । अमेरिकाले सबै खेल खेलिसक्दा ३५ अंक जोडेको छ भने यूएईको ३४ मध्ये १४ खेलमा जित हासिल गर्दै ३१ अंक छ । यूएईका दुई खेल बाँकी छन् ।
आजको खेलमा नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरमा सबै विकेट गुमाएर ७१ रनमै समेटिएको हो। यूएईका लागि अफजल खानले २९, अस्वन्थ वल्थापाले १४ र कार्थिक मयेप्पनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।
यूएईलाई सस्तैमा समेट्न ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । उनले ७.५ ओभरमा २० रन खर्चेर पाँच विकेट लिए । खेलमा सन्दीप लामिछानेले दुई, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एक/एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो । नेपाल धरमराई रहेको वेला कप्तान रोहित पौडेलले सम्हालेका थिए । उनले १ सय १२ बलमा ७७ रन बनाए । जसमा नौ चौका समावेश छन् ।
त्यस्तै, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४, भीम सार्कीले २९, कुशल मल्लले नौ र कुशल भुर्तेलले आठ रन बनाए । यूएईका लागि अफजल खान, जवार फरिद, जहूर खान र रोहन मुस्तफाले दुई/दुई, आर्यन लक्रा र जुनैद सिद्दिकीले एक/एक विकेट लिए ।
यो जितसँगै नेपालको आईसीसी विश्वकप क्वालिफायर खेल्ने सम्भावना पनि जिवितै राखेको छ । नेपालले बाँकी दुई खेल जितेमा ४० अंकसहित लिग-२ को तेस्रो स्थानमा रहँदै आईसीसी विश्वकप क्वालिफायर खेल्न पाउने छ ।