काठमाडौं । सरकारले एकल आमाका सन्तानलाई मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पिताको ठेगान नभएका बालबालिकाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो ।
पञ्चिकरण विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएकी एकल महिलाले बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गर्न पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, पितृत्वको ठेगान नभएको बालबालिका भएका एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै रहेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गर्न पनि विभागले भनेको छ ।