काठमाडौं । शान्तिबाटिकामा मिटरब्याज पिडितको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको छ । मिटरब्याज पिडितको शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरि दमन गरेको हो ।
सरकारले आफूहरूमाथि नियोजित रुपमा प्रहरी लगाएर दमन गरेको संघर्ष समितिले जनाएको छ । सरकारको दमन, हिंसा र क्रूरताको प्रतिवादमा आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिका अध्यक्ष अवधेश कुसवाहाले बताए ।
आन्दोलन स्थलमा प्रवेश गरि प्रहरीले अन्धाधुन्ध कुटपिट गर्दा दुई जनाको हात भाँचिएको, १२ जनाको टाउकोमा चोट लागेको र ४३ जनाले इमर्जेन्सीबाट उपचार लिएको पीडितहरूले जनाएका छन् । शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले करीब ३६ जनालाई नियन्त्रणमा लिएको थियो।
सो घटनालाई लिएर पिडितहरुले सरकारको दमन विरुद्ध विज्ञप्ति नै जारी गरेको छ । प्रहरीले आन्दोलनस्थलमा प्रवेश गरेर ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि अन्धाधुन्ध कुटपिट गरिएको विज्ञप्तिमा भनिएको छ । महिलाहरूमाथि पुरुष प्रहरीद्वारा निर्मतापूर्वक आक्रमण तथा दुर्व्यवहार गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।