आज आमाको आर्शिवाद थाप्ने दिन, मातातीर्थ औँसी,

  गाैरीशंकर टाइम्स संवाददाता  692 पटक हेरिएको


काठमाडौं । आज आमाको आर्शिवाद थाप्दै परिवारमा खुशी हुने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिएर श्रद्धा भक्तिका साथ मातातिर्थ औंसी मनाइँदैछ ।

आज छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आजको दिनलाई विशेषगरी छोराछोरी र आमा विच मिलन गर्ने दिनको रुपमा लिइने गरिन्छ । त्यसैगरी, छोराछोरीहरु आमाको आर्शिवाद थाप्न र भेटघाट गर्न आमा भएको ठाउँमा पुग्ने गरिन्छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व धेरै छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराएर दिवङ्गत आमा र उहाँले गरेका काम सम्झने गर्दछन् । आज औँसीका दिन चन्द्रागिरि नगरपालिकाको महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ ।

यस वर्ष विश्वका केही देशबाट सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्नु नहुने भनी प्रचार गरिएको छ । जसरी भ्रमात्मक रुपमा गरिएको प्रचार सही नभएको धर्मशास्त्रीविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउनुहुन्छ । आजको सुर्यग्रहण नेपालबाट भने देखिने छैना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार