काठमाडौं । महानगरपालिकाले गत वर्ष गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बन्चरेडाडा र सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी दिएको छ । ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ६ बुँदे माग १५ दिन भित्रमा पुरा नभए उपत्यकाको फोहोर फाल्न नदिने चेतावनी दिएको हो ।
बुधबार बसेका दुई पालिकाको प्रतिनिधिहरुको बैठकले १५ दिन भित्र माग पुरा नभएमा संघर्ष गर्न बाध्य हुने जनाएको छ । महानगरपालिका र प्रभावित क्षेत्रका बासिन्दाबीच भएको सम्झौता एक वर्ष पुग्नै लाग्दा मागप्रति कुनै चासो नदिएको हुदाँ स्थानीयहरु जुरमुराउन थालेको छ । सरकारले विगतमा गरेको सम्झौता र माग पुरा नगरेको भन्दै महानगरपालिकाले सिंहदरबार र बालुवाटार भिआइपी क्षेत्रमा फोहोर संकलन गर्न यसअघिनै बन्द गरिसकेको छ ।
त्यसैगरी, २०७९ जेठ २३ गते, नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, प्रभावित क्षेत्रका सरोकारवालाहरु र जेठ २६ गते काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच भएको सम्झौताका बुदाँहरु कार्यान्वयन नभएकाले ती बुदाँलाई तत्कालै कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
दुई पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गिकरण गरि बञ्चरेडाँडाबाट २ किमि क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने, प्रभावितलाई मुआब्जाको प्रकृया तुरुन्त अगाडि बढाउनुपर्ने उनीहरुले माग राखेकोछ ।
साथै हालसम्म फोहोरमैला व्यवस्थापन गर्ने क्रममा सिसडोल र बञ्चरेडाँडामा के कस्ता प्रकृतिका इीआइए गरियो, कति गरियो, कार्यान्वयनको अवस्था कस्तो रहेको छ र कुन कुन निकायबाट सो इीआइए गरिएको हो, सोको जानकारी समेत उपलब्ध गराउनुपर्ने माग राखेका छ ।
उनीहरुले प्रभावित क्षेत्रको वर्गीकरण गरी वडाहरुमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नको लागि नेपाल सरकार, महानगरपालिका र सरोकारवाला निकायसंग बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।
यसअघि वार्ताका क्रममा राखिएका माग र सम्झौताहरु १५ दिन भित्र पुरा नभएमा दुवै स्थानीय तहको कार्यपालिका बैठकले निर्णय गरि फोहोरको ढुवानी बन्द गराइने चेतावनी दिएको छ।