काठमाडौं । प्रतिनीधिसभा सदस्यको वैशाख १० गते आइतबार हुने तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचारप्रसार बन्द हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा–२, तनहुँ–१ र चितवन–२ मा हुन लागेको उपनिर्वाचनका लागि निषेध अवधि लागू हुने भएको हो ।
आयोगले उपनिर्वाचनका लागि निर्वाचन ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी गत चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिताले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यावस्था गरिएको छ ।
उक्त व्यवस्थाबमोजिम आज राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
यस अवधिभित्र निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, मतदातालाई प्रभावित पार्ने तथा उम्मेदवारको पक्षविपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन ।