काठमाडौं । अन्र्तराष्ट्रिय पुस्तक दिवसको अवसरमा साहित्यकार माया गुरुङका दुई कृति ‘ऐना’ र ‘बाको जुत्ता’ कविता संग्रह विमोचन गरिएको छ । अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको आयोजनामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी साहित्यकार गुरुङका दुई कृतिहरु विमोचन गरिएको हो ।
आइतबार आयोजित कृति लोकार्पण कार्यक्रममा साहित्य क्षेत्रका अग्रज तथा स्रष्टाहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङले द्विप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै कवि गुरुङका दुई कृतिहरु ‘ऐना’ र ‘बाको जुत्ता’ लोकार्पण गनुभयो ।
त्यस्तै, कार्यक्रममा साहित्य तथा विभिन्न विधाहरुमा योग्दान पुर्याउनुहुने स्रष्टाहरुलाई खादा तथा माला लगाई सम्मान गरिएको थियो । समारोहमा कवि गुरुङका श्रीमान विजय गुरुङलाई पनि सम्मान गरिएको थियो । साहित्यकार गुरुङको कृतिमाथि वरिष्ठ प्रध्यापक डा.गोविन मानसिंह कार्कीले समिक्षात्मक मन्तव्य राख्नुभयो । सोहि कृतिमा रहेको महत्व र आवश्यकताबारे बरिष्ठ समालोचक डा.शान्तिमाया गिरीले गुरुङको कृति ‘ऐना’ र ‘बाको जुत्ता’ जिवन्त कृति रहेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङले मायाँ गुरुङको कृतिले नेपाली साहित्यिक इतिहासमा अतुलनीय योगदान पुगेको बताउनुभयो । विदेशी भुमीमा रहेर पनि साहित्यप्रतिको माया र योगदानले नेपाली साहित्य क्षेत्रमा अतुलनीय सहयोग पुग्ने उहाँले बताउनु भयो । सो कार्यक्रममा सुरेन्द्र केसी, गुरुङ भाषा शब्दकोषका लेखक रत्नबहादुर गुरुङ, नेपाल मुक्तक समाजका अध्यक्ष रामकाजी कोने, नेपाली स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली लगायतले कृतिका बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा साहित्यिक व्यक्तित्वहरु, लेखक, पत्रकार, बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा बेलायत निवासी साहित्यकार माया गुरुङले आफ्ना दुवै कृतिमा समावेश भएका कविता बाचन गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । त्यस्तै कवि गुरुङका श्रीमान विजय गुरुङले पनि कार्यक्रमका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कृति लोकार्पणसंगै आयोजकले सहित्यकार माया गुरुङको जन्मदिवस मनाउने मेलोमेसो पनि मिलायो । कार्यक्रमका सभापति एवम् अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरका पुर्व केन्द्रीय उपाध्यक्ष सुमल कुमार गुरुङले कार्यक्रमको समापन गर्दै कवि गुरुङप्रति जन्मदिनको शुभकामना समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा सोंपाल तमू समाजका सदस्यहरु तथा अन्य सहभागी शुभचिन्तकहरुले कवि माया गुरुङलाई जन्मदिनको अवसरमा शुभकामना दिएका थिए ।