नेपालमा यात्रीको दर्ता त खुल्यो तर कसरी गर्ने त दर्ता

  गाैरीशंकर टाइम्स संवाददाता  89 पटक हेरिएको

काठमाडौ । नेपालमै पहिलो पटक व्यावसायिक रुपमा बनेको सवारी यात्री मोटरसाइकलको दर्ता गर्न बाटो खुलेको छ । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो ।

नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि सवारी दर्ता ऐन तथा नियमावली संशोधन गरिएको छ । सवारी जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नु पर्ने व्यवस्था गरिएको छ ।

भ्याट बिल, अन्तःशुल्क निकासी फारमका आधारमा यस्ता सवारीको दर्ता गरेर नम्बर प्लेट लिन सकिने छ । यो सँगै नेपालमा बनेका विद्युतीय र पेट्रोल–डिजेलबाट चल्ने सबै खालका सवारी दर्ता गर्न बाटो खुलेको हो । कानुन बाधक भएकाले नेपालमै बनेको विद्युतीय मोटरसाइकलहरु दर्ता हुन नसकेपछि सरकारले द्रुतमार्गबाट विद्युतीय सवारी दर्ता प्रक्रिया खुला गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

नेपालमा बनेको विद्युतीय बाइक ‘यात्री’ले दर्ता नम्बर प्लेट नपाएपछि उत्पादन बन्द गर्ने सरकारलाई चेतावनी दिंदै आएको थियो । सवारी दर्ता हुन यातायात तथा सवारी ऐन–२०४९ र बागमती प्रदेश यातायात तथा सवारी ऐनले तोकेको प्रक्रियाले नेपालभित्र बनेका सवारी दर्ता गर्न नमिल्ने भएपछि कानुनी बाधक बनेको थियो । अव सवारी दर्तासम्बन्धि निर्देशिका संशोधन गरेर सरकारले नेपालमा बनेका सवारी दर्ता गर्ने प्रबन्ध गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार