यस वर्षको सगरमाथा आरोहण शनिवारबाट सुरु

  गाैरीशंकर टाइम्स संवाददाता  155 पटक हेरिएको

काठमाडौ । यस वर्ष लामो समयसम्म आधार शिविरमा रोकिएको आरोहण टोलीले शनिबारदेखि सगरमाथा आरोहण सुरु गरेको छ । शनिवार हिउँको बाटो खोल्दै सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’(डोरी टाँग्ने काम)गरेपछि आरोहणको बाटो खुलेको हो ।

प्रतिकुल मौसमका कारण लामो समयसम्म आधार शिविरस्थित आरोहणको प्रतिक्षामा रहेका आरोहीहरु खुसी भएको छ । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इम्याजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् ।

सगरमाथा समिटसम्मको रुट फिक्सिङ सकियो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगेको कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले जानकारी दिए ।

अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि बिहानसम्म थुप्रै आरोही चुचुरोमा पुग्ने आकलन गरिएको उनको भनाइ छ । इम्याजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ । भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुचुरोमा पुग्ने उनले बताए ।

दोलखाको रोलवालिङमा जन्मेका दावा ग्याल्जे शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत हुन् । रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन् ।

प्रतिकुल मौसमका कारण लामो समयदेखि रोप फिक्सिङको काम हुन सकेको थिए, शनिबार मौसम अनुकुल भएसँगै डोरी टाँग्ने पूरा भएपछि आरोहणको सुरु भएको छ । उनले धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेको जानकारी दिए ।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौं संख्यामा आरोही यतिबेला प्रतिक्षारत छन् । उनीहरु मौसम अनुकुलता अनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन् ।

आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो खुलाइसकेका थिए । मौसम अनुकुल भइदिएको भए वैशाख २१ गते सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी० ले बाटो बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार