काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी आयल निगमले डिजेल र मट्टीतेलको भाउ प्रतिलिटरमा दस रूपैयाँ घटाएको हो ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १५५ रूपैयाँ लिटर पर्नेछ । यसअघि डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रूपैयाँ थियो ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार मुल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार भारतीय आयल निगमबाट पेट्रोल प्रतिलिटर ९ रूपैयाँ र डिजेल ८ रूपैयाँ घटेर आएको हो । हाललाई पेट्रोलको भाउ भने यथावत नै राखिएको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य पनि यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। त्यस्तै, हवाइ इन्धन (आन्तरिक)को मूल्य लिटरको १६० रुपैया नै रहेको छ ।
आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किने बापत् आइओसीले हरेक महिना पन्ध्र/पन्ध्र दिनमा आयल निगमलाई मूल्य सुची पठाउने गर्दछ ।