काठमाडौँ । नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् लाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । बुधबार बिहान ७ बजेर ३४ मिनेटमा सोनामले सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।
उनको श्रीमतीसँगै सगरमाथाको शिखर चुम्ने प्रयास असफल भएको थियो । एकै पटक सगरमाथा आरोहणका लागि गएको सोनाम क्याम्प २ बाटै फर्केका थिए । तर, पासाङले २०५० वैशाख १० गते सगरमाथा आरोहण गरेकी थिइन् । पासाङ ल्हामु शिखर चुमेर फर्किने क्रममा निधन भएको थियो ।
उनकी छोरी दावाफुटी शेर्पाका अनुसार सोनामले यसअघि ६ वटा महादेशका अग्ला हिमाल आरोहण गरिसकेका छन् । सगरमाथासमेत आरोहण गरेर सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने सपना पूरा गरेको छोरी दावाफुटीले जानकारी दिइन् । आरोही शेर्पा यती समूहका अध्यक्ष हुन् ।