काठमाडौं । नेपाली महिला भलिबल टिमले उपाधि लक्ष्यसहित आजदेखि घरेलु मैदानमा काभा वुमन्स च्याम्पियनसिप खेल्दैछ । तीन महिना लामो तयारी गरेको नेपालले कुनै पनि मैत्रीपूर्ण खेल बिना नै प्रतियोगिता खेल्न लागेको हो ।
नेपाल यसअघि काभाद्वारा आयोजित दुई प्रतियोगिताको उपाधि विजेता टिम हो । नेपाल यसपटक घरेलु मैदानमा घरेलु दर्शकका अगाडि ह्याट्रिक गर्ने तयारीमा छ । नेपाली टिमले ३ महिनाको तयारी गरे पनि आर्थिक अभावका कारण अभ्यासका लागि मैत्रीपूर्ण खेल खेल्न नपाएको नेपाली टिमकी कप्तान अरुणा शाहीले बताइन । तर मैत्रीपूर्ण खेल नखेले पनि प्रतियोगितामा राम्रो गर्ने उनको विश्वास रहेको छ ।
नेपालले यसअघि काभाका बी डिभिजनका टिमसँग खेलेर उपाधि जितेको थियो । यस पटक नेपालले ८ टिममध्ये काजकिस्तानलाई बलियो प्रतिस्पर्धी ठानेको छ । खेलका प्रमुख प्रशिक्षक जान डी ब्रान्टले भने नेपालको तयारी सम्पूर्ण रुपमा राम्रो भएको र अहिले हरेक खेलाडी फिट रहेकाले राम्रो सुरुवातको अपेक्षा राखेको बताए । प्रतियोगितामा खेल्न आएका अन्य टिमका कप्तान र प्रशिक्षकले पनि आफूहरु तयारी राम्रो गरेर नेपाल आएको बताए । प्रतियोगिता यही जेठ १४ गतेसम्म चल्ने छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आयोजना हुने प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागीता रहने छ । प्रतियोगितामा बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र आयोजक नेपालको सहभागीता रहने छ । प्रतियोगितामा सहभागी ८ टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित भारत, बंगलादेश र किर्गिस्तान रहेका छन भने समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजाकिस्तान र उज्वेकिस्तान रहेका छन । प्रतियोगिता आयोजनाको खर्च अनुमानीत २ करोड ७१ लाख रहेको नेपाल भलिबल संघले जनाएको छ ।