नक्कली भुटानी शरणार्थी प्रकरणः आज प्रहरीले प्रतिवेदन बुझाउदै

  गाैरीशंकर टाइम्स संवाददाता  104 पटक हेरिएको

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे काठमाडौं प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाउँदै करोडौँ रकम ठगी गरेको अभियोगमा पक्राउ परेकाहरूको बयान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयमा आज अनुन्धान प्रतिवेदन बुझाउन लागेको हो ।

यसअघि आइतबारनै प्रतिवेदन बुझाउने भने पनि प्राविधिक कारणले ढिलो भएको प्रहरीले जनाएको थियो । अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार पार्न सरकारी वकिलको कार्यालयले आठ सदस्यीय कार्यदल गठनसँगै हिजै अनुसन्धानको आंशिक प्रतिवेदन पेस गरिसकेको छ । प्रहरीले आज मूल प्रतिवेदन बुझाउन लागिएको हो ।

प्रहरीले आरोपितलाई बयान लिएर चार वटा अभियोगमा मुद्दा दायर गर्ने गरी प्रतिवेदन तयार पारेको छ । उनीहरूविरुद्ध ठगी, राज्यविरुद्धको अपराध, सरकारी दस्तखत किर्ते र संगठित अपराधको अभियोगमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । आरोपितविरुद्ध मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट, सार्वजनिक पदको दुरुपयोग, भ्रष्टाचार लगायत अन्य कसुर पनि आकर्षित हुने देखिएको छ । तर अहिले चार वटा कसुरमा मुद्दा चलाउने रायसहित प्रहरीले प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति भने फरार छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार