काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न विरुद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । प्रहरीले शरणार्थी प्रकरणमा अनुसन्धानको रायसहित प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतका अनुसार ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन बुझाएको जानकारी दिनुभयो । उहाँका अनुसार सम्पत्ति शुद्धीकरण तथा अख्तियार दुरुपयोग अनुसन्धानको पाटो बाँकी नै रहने र त्यसतर्फ पनि मुद्दा आकर्षित हुनसक्ने उल्लेख गर्नुभयो ।
शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री लगायतका १६ जना पक्राउ परेका छन् । उहाँले थप १६÷१७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय पनि दिइएको जानकारी दिनुभयो । त्यस प्रकरणमा एक सय १३ जना पीडितले रु २७ करोड बढी ठगी भएको भनी उजुरी दिएका छन् ।
ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेकपा(एमाले)का निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।
सो प्रकरणमा आरोपित पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा नीरज राईसहितका व्यक्तिहरू भने अझै फरार रहेका छन् ।