दोलखामा माउण्टेन साइक्लिङ दौड प्रतियोगिता सुरु

  गाैरीशंकर टाइम्स संवाददाता  247 पटक हेरिएको

दोलखा । पर्यटन प्रर्वद्धन गर्नको लागि माउण्टेन साइक्लिङ रिले दौड शनिबारदेखि दोलखामा सुरु गरिएको छ । यति ओरिजिन्सको आयोजना र भीमेश्वर नगरपालिकाको सहकार्यमा साइक्लिङ रिले दौड आयोजना गरिएको हो ।

माउण्टेन साईक्लिङ रिले दौड कालिञ्चोकको ३७६२ मिटर उचाईबाट सुरुगरी नागदहको ८४२ मिटरमा पुगेर समापन हुनेछ । जिल्लामा पर्यटन प्रर्वद्धन गराउनका लागि जेठ १३ गते शनिवारदेखि १५ गतेसम्म आयोजना गरिएको भीमेश्वर नगरका मेयर इश्वर नारायण मानन्धरले जानकारी दिनुभयो । यस्तो साहसिक खेलको सुरुवातको परिक्षणले राष्ट्रिय स्तरमा इभेन्ट आयोजना गर्न सकिने मेयर मानन्धरले जानकारी दिए ।

यस खेललाई आयोजकले साहसिक खेलको नयाँ गन्तव्यका रुपमा लिई अन्तराष्ट्रिय स्तरमै स्थापित गर्ने उद्देश्य लिएको छ । यस रिले दौडमा नेदरल्याण्ड, मेक्सिको र नेपालका गरी ४० जना खेलाडीको सहभागी रहेको छ ।

खेलको उद्घाटन कार्यक्रम भीमेश्वर नगरका मेयर इश्वर नारायण मानन्धको अध्यक्षता र प्रतिनिधिसभा सदस्य गंगा कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य भरत बहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी र भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

यस्ता किसिमका साहसिक खेलले जिल्लाको पर्यटन तथा धार्मिक क्षेत्रको प्रचारप्रसारमा थप टेवा पुग्नेछ । दोलखामा पर्यटन प्रवद्र्धनका लागि विभिन्न माध्यमबाट कार्यक्रम गरी आकर्षित गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार