काठमाडौं । आज सोह्रौ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषण भएको थियो ।
नेपालमा जनआन्दोलन २०६२ र ६३ को जगमा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । वि.स. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएता पनि अझै शासन व्यवस्था बद्लिन सकेको छैना । वि.स. २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो ।
दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिएकोछ ।