काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार दिउँसो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल हुदै नयाँ दिल्ली पुग्नुभएको छ । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ‘प्रचण्ड’ दिल्ली पुग्नुभएको हो ।
प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभएको थियो । त्यस क्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।
यस भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, सचिवहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेकोछ । प्रधानमन्त्री ‘प्रचण्ड’लाई नेपालबाट राजकीय सम्मानका साथ बिदाई गरेता पनि मित्र राष्ट्र भारतमा भने राज्यमन्त्रीले स्वागत गरेका छन् ।
त्यसैगरी,आज बेलुका प्रधानमन्त्री दाहालको सम्मानमा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले भारतमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेकोछ ।