गोंगर, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका ज्यालादारी कर्मचारीहरु संघर्षमा उत्रिएका छन् । आयोजना निर्माणको प्रारम्भदेखि सवारी चालक र प्रशासन शाखाको पदमा रहि निर्माणको कार्यमा खटिएर ज्यालादारीहरुले कारारको व्यावस्था गर्न माग गर्दै संघर्षमा उत्रिएका हुन् ।
माथिल्लो तामाकोसी आयोजना निर्माण कार्य सुचारु हुदैदेखि कार्यरत ३६ जना कर्मचारीहरुले आफूहरुलाई करारमा नियुक्ति दिइनुपर्ने भन्दै संघर्षमा उत्रिएका हुन् । उनीहरुले आयोजनाको प्रधान कार्यालय गोंगरमा धर्ना दिँदै आएका छन् । आन्दोलनरत कर्माचारीहरुले आयोजना अन्तर्गतका सवारी साधनहरु सञ्चालनमा समेत रोक लगाएका छन् ।
आयोजना निर्माणका लागि ज्यालादारी कर्मचारीहरुले धेरै दुःख, जोखिम र विविध कठिनाईहरु भोगेर विद्युतको परीक्षण सफल बनाई व्यवसायिक उत्पादन गरिसकेको छ । आयोजनाले कर्मचारीहरुको योगदानलाई सम्मान गरी करारको उचित व्यवस्था मिलाइनु पर्ने संघर्ष समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी, अध्यक्ष श्रेष्ठका अनुसार “आयोजना निर्माणको चरणमा आईपरेका प्रकृतिक प्रकोप भुकम्प, बाढी, पहिरो लगायतको विपद्को समयमा पनि दिन रात नभनि दुःख कष्टबाट कत्ति पनि विचलित नभई निरन्तर कार्य गरी आयोजना समयमै निर्माण सम्पन्न गरियो ।” तर आयोजनाले आफ्नो स्वार्थ पुरा गरेपछि ज्यालादारी कर्मचारीहरुलाई सौतेनी ब्यवहार देखाएको अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो । आयोजना निर्माणको लागि ज्यालादारी कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेको हुदाँ सम्बन्धित निकायले माग पुरा गर्नुपर्ने श्रेष्ठले बताए ।
आयोजना निर्माण कार्यमा कर्मचारीहरुको उर्जाशील दुई तिहाई समय वितेको र आफ्नो परिवारको भविष्य समेत चिन्तामा जोडिएको संघर्ष समितिका सचिव दानबहादुर तमाङले बताउनुभयो । आयोजना प्रमुखसँग पटक–पटक छलफल गरी मागलाई सम्बोधन माग सम्बोधनको लागि निबेदन समेत दिएको तर माग सम्बोधन नगरी एकतर्फी रुपमा कमिशनका आडमा ठेकेदार मार्फत राख्न खोजिएको आन्दोलनरत कर्मचारीहरुले बताएका छन् । आयोजनाका संघर्षरत कार्मचारीहरुले जेठ १४ गते प्रधान कार्यालय गोंगरमा धर्ना दिएका थिए । जेठ १५, १६ र १७ गते पनि शान्तिपूर्ण धर्ना दिएको थियो । तर माग सम्बोधनका लागि आयोजनाले कुनै पहल गरेको छैना ।
यदि आयोजनाका सम्बन्धित निकायले मागप्रति बेवास्ता गरे संघर्षका थप कार्यक्रम तय गरिने संघर्ष समितिका कोषाध्यक्ष प्रकाश थापा मगरले बताउनु भयो । उनका “अनुसार यदि आयोजनाले हाम्रो मागलाई बेवास्ता गरे सिन्धुपाल्चोकस्थित भोटेकोशी जलविद्युत आयोजनाको जस्तै हबिगत बनाउन बाध्य हुने बताउनु भयो ।” बिगतमा भोटेकोशी आयोजनामा पनि कर्मचारी र स्थानीयको संयुक्त पहलमा उत्पादननै ठप्प पारी आयोजनालाई माग सम्बोधन गराउन बाध्यकारी पारेको स्मरण समेत गराएका हुन् । त्यस्तै समस्या तामाकोशीमा पनि नहोस यदि भवितव्य भैई हाल्यो भनेपनि त्यसको ठुलो क्षति आयोजनाले भोग्न बाध्यकारी हुने समेत कोषाध्यक्ष मगरले चेतावनी दिएका छन् ।
हाल अपर तामाकोशी हाईड्रोपावर लिमिटेड अन्तर्गत निर्माण सम्पन्न भएको ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट गत वर्षदेखि नै व्यवसायिक उत्पादन शुरु भई नियमित रुपमा विद्युत उत्पादन भईरहेको छ । आयोजना विगु गाउँपालिका वडा नं १ गोंगरमा अवस्थित रहेको छ । तामाकोशीको उत्पादित विद्युत खिम्ती सबस्टेशनबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।