काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । वरिष्ठ अधिवक्ताद्धय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका हुन् ।
अदालतमा पेश गरिएको रिटमा नागरिकता विधेयक तत्काल कार्यान्वयन रोक लगाउन पनि माग गरिएको छ । संघीय संसदको दुबै सदनले पारित गरेको नागरिकता विधेयक निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए ।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सभामुख, प्रतिनिधिसभा, राष्ट्रियसभालगायतका निकायलाई विपक्षी बनाइएको छ ।