दोलखा । दोलखाको भिमेश्वर नगरपालिका स्थित सोक्ला गाउँमा ‘रक क्लाइम्बिङ महोत्सव-२०८०’ सम्पन्न भएको छ । जिल्लामा पर्यटन प्रवर्द्धन गर्नका लागि जेठ १८ र १९ गतेसम्म दुई दिने “रक क्लाइम्बिङ महोत्सव” आयोजना गरिएको थियो ।
सदरमुकाम चरिकोटदेखि करिब ९ किलोमिटर दूरीमा रहेको भीमेश्वर नगरपालिका-२ सोक्ला गाउँ नजिकको करिब ३० मिटरको भिरमा रक क्लाइम्बिङको प्रयोजनमा ल्याइएको छ । सो गाउँमा एक वर्ष अघिदेखि अध्ययन गरेर सोक्ला पर्यटन विकास समाजद्धारा रक क्लाइम्बिङको गरेको हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र माउन्टेड गाइड एसोसिएसन अफ नेपाल (मोगान)को प्राविधिक सहयोगमा महोत्सवको आयोजना गरिएको थियो ।
सोक्ला पर्यटन विकास समितिका अध्यक्ष अर्जुन पाख्रिनका अनुसार सोक्ला भ्यालीका भिरलाई महोत्सवपछि पनि निरन्तरता दिएर नेपाल प्रहरी, नेपाली सेनाका लागि परीक्षण स्थल बनाउने योजना रहेको बताउनुभयो । उनका अनुसार सोक्ला रक क्लाइम्बिङ महोत्सवको लागि मात्र हैन यो अब यहाँको स्थानीय लाई तालिम दिई दक्ष गराएर आन्तरिक तथा बाह्य पर्यटक ल्याएर क्लाइम्बिङ गराउने बताए ।
महोत्सवले सोक्ला क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य बन्ने, सोक्ला भ्याली रक क्लाइम्बिङ हबका रुपमा विकास हुने, जिल्लाको स्काउट टिमका लागि आपतकालीन उद्धार तालिम केन्द्र बन्ने, भीमेश्वर नगरपालिकाको मात्रै नभएर जिल्लाकै साहसिक पर्यटकीय गन्तव्यका रूपमा सोक्ला गाउँको प्रवर्द्धन हुने विश्वास लिइएको आयोजकले जनाएको छ ।