माथिल्लो तामाकोसी ज्यालादारी मजदुरको आन्दोलनलाई राजनीतिक दलको ऐक्यबद्धता

  गाैरीशंकर टाइम्स संवाददाता  540 पटक हेरिएको

गोंगर, दोलखा । माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत ज्यालादारी मजदुरको आन्दोलनमा राजनैतिक दलले संयुक्त ऐक्यबद्धता जनाएको छ । ज्यालादारी मजदुरको आन्दोलनलाई विगु गाउँपालिकाको राजनीतिक दलहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी ऐेक्यबद्धता जनाएको हो ।

आयोजनामा लामो समयदेखि कार्यरत ज्यालादारी मजदुरहरुले करारको माग गर्दै आएको शान्तिपूर्ण आन्दोलनमा स्थानीय राजनीतिक दलहरु नेपाली कांग्रस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त ऐक्यबद्धता जनाएको हो । आयोजनामा ज्यालादारी कर्मचारीहरुले जेठ १४ गतेदेखि करारको माग राखी शान्तिपूर्ण आन्दोलन गरिरहेको छ ।

आयोजनामा कार्यरत ज्यालादारी कर्मचारीको माग पुरा गराउन र आन्दोलनलाई निर्णयक बनाउनका लागि विगु गाउँपालिका वडा नं १, लामाबगरका स्थानीय वडाका राजनीतिक दलहरु नेपाली कांग्रेसका तर्फबाट वडासभापति यादवप्रसाद आर्चाय, नेकपा एमालेका वडाकमिटी अध्यक्ष पहलमान तामाङ र नेकपा माओबादी केन्द्र वडाकमिटीका अध्यक्ष मिरे तामाङले संयुक्त जारी गरेको प्रेस विज्ञप्तीमा हस्ताक्षर गरी ऐक्यबद्धता जनाएको हो । स्थानीय राजनीतिक दलले ज्यालादारी कर्मचारीको माग यथासिघ्र सम्बोधन गर्न आयोजनालाई आग्रह गरेको छ ।

त्यसैगरी, माथिल्लो तामाकोसी आयोजना निर्माण कार्य सुरु हुदैदेखि कार्यरत ३६ जना ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई करारमा नियुक्ति दिइनुपर्ने भन्दै संघर्षमा उत्रिएका हुन् । उनीहरुले आयोजनाको प्रधान कार्यालय गोंगरमा धर्ना दिँदै आएका छन् । आन्दोलनरत कर्मचारीहरुले आफुहरुको मागप्रति प्रशासनले बेवास्ता गरे आन्दोलन र संघर्षबाटै बाध्यकारी बनाउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार