काठमाडौं । नेकपा (एमाले) का जनसंगठनहरूले काठमाडौंमा संयुक्त विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा एमालेका २३ वटै जनसंगठनहरूले सरकार पक्षबाट राष्ट्रघात र जनविरोधी काम भएको भन्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।
एमालेका जनसंगठनद्धारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहदा भूमि साटफेर गर्न सकिने अभिव्यक्ति, नागरिकता विधेयक, टीकापुर घटनामा अदालतद्वारा दोषी ठहर गरिएका रेशम चौधरीलाई आममाफी, सांसद विकास कोष व्युँताइएको जस्ता विषयमा विरोध स्वरुप खबरदारी गरेका छन् ।
त्यसैगरी, सोमबार गरेको प्रदर्शनमा असंवैधानिक नागरिकता विधेयक खारेज गर, भैँसीसँग राष्ट्रियता साट्न पाइँदैन, बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर लगायतका प्लेकार्डसहित नारा लगाइएको थियो ।