काठमाडौं । सोलखुम्बुको सगरमाथा क्षेत्र नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यसवर्ष सबैभन्दा बढी गर्मीको महसुस गरिएको छ । समुद्री सतहबाट ३ हजार ४ सय मिटरको उचाइमा रहेको नाम्चे बजारमा शनिबार गर्मी अर्थत उच्च तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ ।
यो पछिल्लो १२ वर्ष यताकै सबैभन्दा बढी हो । नाम्चे बजारमा १२ वर्षअघि पनि यस्तै तापमान महसुस गरिएको स्थानीयवासीले बताएका छन् । नाम्चे बजारमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको हो । विगत केही वर्षदेखि नाम्चे बजारको औसत तापक्रम ४–५ डिग्री सेल्सियस रहँदै आएको थियो ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा तत्कालै पानी पर्ने सम्भावना नरहेको जनाएको छ । मौसम परिवर्तनमा छिटपुट वर्षा हुनसक्छ तर, तापक्रम घट्ने अपेक्षा भने गरिएको छैन ।