काठमाडौं । राजधानी न्युज पब्लिकेशन प्रालिद्धारा प्रकाशित राष्ट्रिय दैनिक राजधानी पत्रिका २२ औँ वार्षिकोत्सव मनाएको केही दिनमै बन्द भएको छ । राष्ट्रियस्तरमा आफ्नो छुट्टै पहिचाहन स्थापित गर्न सफल राजधानी दैनिक २२ वर्षदेखि निरन्तर प्रकाशित गर्दै आएकोमा जेठ २६ गतेदेखि प्रकाशन बन्द भएको हो ।
राजधानी न्युज पब्लिकेशन प्रालिको प्रमुख कार्यकारी अधिकृतमा डोलेन्द्र थापा नियुक्त भएपछि सञ्चालकहरूको बीचमा बढेको विवादले पत्रिका छाप्नका लागि कागज किन्ने अवस्था नभएपछि पत्रिका बन्द भएको स्रोतले जनाएको छ । थापाले राजधानी जाने बित्तिकै जिल्ला संवाददाताको पारिश्रमिक रोकिदिएका थिए । विगत दुई दिनदेखि पत्रिका प्रकाशित भएर बजारमा गएको छैन ।
थापाले जिल्ला संवाददाताले पठाउने विज्ञापनको कमिसन समेत रोकेका थिए । त्यसपछि व्यस्थापनमा विवाद बढेसँगै थापाको नियुक्ति बदर गरी उनको नाम प्रिन्टलाइनबाट हटाइएको थियो । सञ्चालक समितिमा अध्यक्ष नन्दा शेरचन र निर्देशकद्धयमा आशिश शेरचन र सचिन शेरचन रहेका छन् । स्रोतका अनुसार आमा छोराबीचको विवादले पत्रिका बन्द हुनुको मुख्य कारण रहेको जानकारी दिए ।
थापालाई प्रमुख कार्यकारी अधिकृतको रूपमा अध्यक्ष नन्दा शेरचनले हाजिर गराएकी थिइन । यद्यपी सञ्चालक समितिबाट त्यस वियष अनुमोदन हुन बाँकी रहेको थियो । अर्थात छोराहरूले आमाको निर्णयमा असहमति जनाएका थिए ।
स्वर्गीय महेन्द्र शेरचले सुरूवात गरेको पत्रिका बन्द हुँदा केही दर्जन पत्रकारले जागिर गुमाएका छन । योसँगै पत्रिकाको अन्तिम सम्पादक ध्रुव लम्साल बनेका छन । पत्रिका बन्द भएको विषयमा जानकारी माग्दा सम्पादक लम्सालले दुई दिनदेखि पत्रिका प्रकाशन नभएको पुष्टि गर्दै बाँकी कुरा व्यवस्थापनसँग बुझ्न अनुरोध गरे ।
त्यसैगरी, प्रकाशनको इतिहासमा लामो समय निरन्तर रुपमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विषयबस्तुलाई समेटेर राजधानी दैनिक प्रकाशन हुदै आएको थियो । स्वर्गीय महेन्द्र शेरचले सुरूवात गरेको पत्रिका बन्द हुँदा राजधानी पत्रिकालाई पत्रकारिताको इतिहासमा कालो दाग लागेको छ ।