माथिल्लो तामाकोशीले स्थानीयलाई सेयर डिम्याट गर्न पुनः आग्रह

  गाैरीशंकर टाइम्स संवाददाता  324 पटक हेरिएको

काठमाडौं । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले दोलखाको स्थानीयलाई शेयर डिम्याट खातामा जम्मा गर्न सार्वजनिक सुचना जारी गरेको छ । स्थानीयहरुले आयोजनाबाट खरिद गरेको शेयर आफ्नो डिम्याट खातामा अभौतिकीकरण नगर्दा करिब २ लाख शेयरधनी हकप्रद शेयर पाउनबाट बञ्चित हुने भन्दै पुनः सुचना जारी गरेको हो ।

दोलखामा निर्माण भएको स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रका लागि प्रदान गरेको सेयरलाई अधिकांश शेयर धनीहरुले अभौतिकीकरण गरेका छैन् । आयोजनाबाट बाँडफाँड गरिएको शेयर भौतिक प्रमाणपत्र बितरण नगरी शेयरधनीहरुको सुबिधाको लागि सोझै सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा हुनेगरी अभौतिकीकरण गर्ने व्यवस्था रहेकोमा हालसम्म पनि करिब २ लाख शेयर धनीले डिम्याट खातामा जम्मा गरेका छैनन् ।

माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले हकप्रद शेयर निष्काशनको तयारी अन्तिम चरणमा पुगेकाले शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिईओ मोहन गौतमले तत्काल आफ्नो डिम्याट खाता खोली शेयर अभौतिकीकरण नगरे हकप्रद शेयरबाट बञ्चित हुने भन्दै आफुले पाउने अधिकारको उपयोग गर्न सम्पुर्ण शेयरधनीहरुलाई आग्रह गर्नुभएको छ । उहाँका अनुसार शेयर अभौतिकीकरण नगर्ने शेयरधनीहरुहरुले हकप्रद शेयरको आवेदन दिन पाउने छैनन् । आफुले यसअघि खरिद गरेको आयोजनाको शेयर बराबरको हकप्रद शेयर करिब एक सय रुपैयाँमा खरिद गर्न पाईने आयोजनाले जनाएको छ ।

सिईओ गौतमले आयोजनाका शेयरधनी हकप्रद शेयर पाउनबाट बञ्चित हुन नपरोस् भन्दै आयोजनाले पटक पटक सुचनामार्फत जानकारी गराएपनि अधिकांशले अझै शेयर अभौतिकीकरण नगरेको बताउनुभयो । आयोजनाले सबै शेयरधनी हकप्रद शेयरको पहुँचमा पुगुन् भन्ने उद्धेश्यले जिल्लाका स्थानीय तहहरुलाई समेत समन्वय गर्न आग्रह गरेको थियो । साथै सनराईज क्यापिटल लिमिटेडले समेत जिल्लाका बिभिन्न स्थानमा शिविर खडा गरेर शेयर अभौतिकीकरणको व्यवस्था मिलाएको थियो । सनराईड क्यापिटल लिमिटेडका सिईओ विजयलाल श्रेष्ठले आयोजनामा कुल २ लाख ७६ हजार शेयरधनी रहेकोमा अधिकांशले शेयर अभौतिकीकरण नगरेकाले हकप्रद शेयर पाउनबाट धेरै दोलखाबासी शेयरधनीहरु बञ्चित हुने बताउनुभयो ।

डिम्याट खाता खोलिसकेका शेयर धनीले डिम्याट खातामा आफ्नो शेयर जम्मा गर्नका लागि सनराइज क्यापिटल लिमिटेडमा आफ्नो डिम्याट खाता नम्बर भरेको फारम पठाउन सक्नेछन् । सनराइज क्यापिटलले डिम्याट खाता नम्बर पाइसकेपछि मात्रै सम्बन्धीत शेयरधनीको शेयर कित्ता डिम्याट खातामा हालिदिने व्यवस्था गरेकोछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार