दोलखा । जिल्ला प्रशासन कार्यालयमा ८ वटा मिटरब्याजी पिडितले उजुरी दर्ता गरेका छन् । प्रशासनमा व्यक्ति स्वयम् उपस्थित भएर दुई वटा र अनलाइन मार्फत ६ वटा उजुरी दर्ता भएको हो ।
प्राप्त उजुुरीमाथि छानविन तथा अध्यायन गर्न सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी अधिकृत र सहायक न्यायधिवक्ता सदस्य तथा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा सदस्य सचिव रहेका छन् ।
त्यस्तै समितिले मिटरब्याजीको उजुरीमाथि अध्ययन गरि संघीय सरकारले बनाएको जाँचबुझ आयोगमा प्रतिवेदन सिफारिस गर्नेछ । बागमती प्रदेशभर हालसम्म मिटरब्याजी विरुद्ध ३ सय ३४ वटा उजुरी परेका छन् । दोलखाबाट मात्रै ८ वटा उजुरी परेको हो । सरकारले मिटरब्याजी पिडितको समस्य सामधानको लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।
त्यसैगरी, आयोगले देशभरका जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरेर उजुरी लिइरहेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार सरकारको प्राथमिकतामा रहेको विषयलाई मध्येनजर गर्दै प्रशासनमा प्राप्त उजुरीहरुमाथि तत्काल अध्ययन तथा छानविन सुरु गरिने बताउनुभयो ।