काठमाडौं । सर्वोच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिमा बुधबार उजुरीकर्तासँगको छलफलपछि समितिले कार्कीलाई सुनुवाइका लागि आज बोलाएको हो ।
प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामुप्रधानन्यायाधीश कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका थिए । गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेतापनि संसदीय सुनुवाइ समिति गठन नहुँदा संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्व विहीन रहेकोछ ।
हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था रहेकोछ ।