काठमाडौ । बेटिङ प्रचार गरेको आरोपमा हास्यब्याग्यका चर्चित कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी ध्रुर्वे) सहित आठ जना कलाकार पक्राउ परेका छन् । प्रहरीले “अनलाइन बेटिङ” प्लेटफर्मको विज्ञापन मार्फत प्रचारप्रसार गरेको आरोपमा कलाकारहरुलाई पक्राउ गरेको हो ।
उनीहरु बिहीबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान माहाशाखाका प्रवक्ता एव् प्रहरी उपरीक्षक(एसपी) रविन्द्र रेग्मीले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा पवन खतिवडा(म्याकुरी), युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर(जलनु), युट्युबर गणेश देवकोटा(जिडी), सरोज घिमिरे(ढेडु बुढो) र (भटभटे माइला) भन्ने बेगम नेपाली रहेका छन् । उनीहरुले युट्युबमा “वानएक्स” एपमार्फत बेटिङको प्रचार गरेको आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।
उनीहरूले अवैध “वानएक्स बेट” खेल्न प्रोत्साहन गर्ने उद्देश्यले विज्ञापन प्रशारण गर्नेदेखि अभिनय समेत गरेको खुलेको छ । प्रहरीले बुधबार वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था रहेको छ । अपराध संहिताको धारा १२५ र ९२० को उपदफा ९१० (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।