मेलम्चीमा प्रधानमन्त्री ‘प्रचण्ड’

  गाैरीशंकर टाइम्स संवाददाता  313 पटक हेरिएको


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । प्रधानमन्त्री दाहाल मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न सिन्धुपाल्चोकको मेलम्ची पुग्नुभएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’का साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव पनि सहभागी हुनुभएको थियो । प्रधानमन्त्री प्रचण्डलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्बाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तमाङ लगायतले स्वागत गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तिब्रता ल्याउन प्रधानमन्त्रीले स्थलगत अवलोकन गर्नुभएको हो । मेलम्ची खानेपानी आयोजनाबारे स्थलगत अवलोकनका क्रममा हेलम्बु गाउँपालिका-१, अम्बाथानस्थित परियोजना मुहान तथा बाँधको समेत निरीक्षण गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई अम्बाथान क्याम्पमा आयोजनाका कार्यकारी निर्देशकले आयोजना सम्बन्धि ब्रिफिङ गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले ग्याल्थुममा स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्नु भएको प्रेस संयोजक शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार