सुरी, दोलखा । गौरीशंकर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम शनिबार सम्पन्न भएको छ । गाउँसभाको १३औ अधिवेशनले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम अन्र्तगत कुल बजेट ४ करोड ४० लाख विनियोज गरिएको हो ।
आगामी आर्थिक बर्षका लागि संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको समपुरक लगानीमा ४ करोड ४० लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष श्यामसुन्दर तामाङले जानकारी दिनुभयो । उपाध्यक्ष तामाङका अनुसार आगामी बजेटमा विशेषगरी भौतिक निर्माण अन्र्तगत सडक स्तरोन्नतिका लागि जुँगु सिताको थान देखि गाउँपालिका हुँदै चंखु, मार्बु र खारे जोड्ने सडकलाई गाउँपालिकाको मुख्य रणनीतिक भएको जानकारी दिए । सडक स्तरोन्नती र कालोपत्रे गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको छ । पालिकाले आगामी बर्षमा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
पालिकाले कृषि तथा पशुपन्क्षी क्षेत्रतर्फ गौरीशंकरको पहिचान, स्थानीय बालीहरु प्रबद्र्धन गर्न कृषि उत्पादनहरु आलु, किबी, मह र कोदो, फापर लगायत स्थानीय रैथाने बालीको प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी बजारीकरण गर्न आवश्यक व्यवस्था मिलाउने नीति लिएको छ । गाउँपालिकाभित्र वाहिरी जिल्लाबाट आउने महंगो तरकारीको आयात प्रतिस्थापन गर्न मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा कृषकहरुलाई विशेष अनुदानको व्यवस्था गर्ने नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको छ ।
कार्यक्रममा पालिकाका अध्यक्ष बिश्वास कार्कीले आगामी वर्ष पूर्बाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा लगायतको विकासमा प्रतिबद्ध रहेको बताउनुभयो । अध्यक्ष कार्कीले आगामी आर्थिक बर्ष एक वडा एक मुख्य सडक, कृषकहरुलाई प्रोत्साहन गर्न उत्पादनमुलक कार्यक्रम ल्याउने समेत बताए ।
बजेट नयाँ र जनमुखी कार्यक्रम भन्दा नारामा मात्र सिमित हुने देखियोः एमाले
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनमुखी र उत्पादनमुलक क्षेत्रलाई भन्दा अनुउत्पादन क्षेत्रलाई बजेट केन्द्रित देखिएको प्रमुख विपक्षी दल नेकपा एमाले गौरीशंकर पालिका पार्टी कमिटीले जनाएको छ । शिक्षा, स्वस्थ्य, रोजगारीलाई बढि प्राथमिकता दिनुको सट्टा बाटो र सडकलाई मात्र बढी केन्द्रित देखिएको हुदाँ विकास भन्दापनि दुरुपयोग हुने संम्भावना रहेको एमालेले भन्दापनि दुरुपयोग हुने संम्भावना रहेको एमालेका पालिका इन्चार्ज स्वयमबहादुर खड्काले बताए ।
शनिवार प्रस्तुत गरिएको गाउँसभाको १३औँ अधिबेशनको नीति तथा कार्यक्रम हेर्दा बेरोजगारी युवाहरुको समस्या समधान र बढ्दो महंगीलाई नछोए समेत बताए । ईन्चार्ज खड्काका अनुसार आर्थिक मन्दी भएको बेला नीति तथा कार्यक्रममा उत्पादनमुलक र बेरोजगारी समस्या समाधान गर्न प्रेरित हुनुपर्ने र उत्पादन क्षेत्रलाई थप प्याकेज बनाई प्रोत्साहन गर्ने कुनै नयाँ साझा कार्यक्रम नरहेको र एकपक्षिय रहेको बताउनु भयो ।