काठमाडौ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आह्रोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसीलाई पक्राउ गरिएको हो।
यस प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेकै थियो । थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सिआइबीले यस प्रकरणमा अनुसन्धान गरी २०७८ पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भनेर फिर्ता पठाएको थियो ।