चरिकोट । चरिकोट–सिङ्गटी सडकको बन्चरे बजार नजिकै पार्किङ गरि राखिएको यात्रुबाहक बसका सहचालक मृत भेटिएका छन् । बिहिबार काठमाडौंबाट सिङ्गटीमा यात्रु पुर्याएर फर्किएका बा ३ ख ८३९ नम्बरको यात्रुबाहक बसका सहचालक नारायणबहादुर खत्री बसभित्र मृत अबस्थामा भेटिएका हुन् ।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ महतारा निवासी अन्दाजी ४०–४५ वर्षका नारायणबहादुर खत्री मृत भेटिएका हुन् । शुक्रबार बिहान पैदल यात्रुले गाडीको ढोका खुल्ला रहेको र गाडी भित्र रगतम्य मानिस देखेपछि प्रहरीलाई खबर गरेका थिए । घट्ना स्थलमा प्रहरीले चेकजाँच गर्दा मृतक खत्रीको टाउकोमा चोट लाग्नुका साथै रगत बगेको देखिएपछि घटना शंकास्पद भएको भन्दै मृतकका आफन्त र स्थानीयले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । स्थानीयले दोषिलाई कार्बाहीको माग गर्दै चरिकोट–सिङ्गटी सडक अवरुद्ध पारी शव समेत उठाउन दिएका छैनन् । प्रहरीले सोही गाडीका चालक सहित अन्य शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, कालिञ्चोक गाउँपालिका वडा नं. ३, बन्चरे नजिकै चिउरीबोट भन्ने स्थानमा वर्षाका कारण दिनहुँ सडक अवरुद्ध हुने भएपछि राजधानी काठमाडौं लगायतका स्थानबाट सिङ्गटीसम्म आउने यात्रुबाहक बसहरु सिङ्गटीमा यात्रु ओरालेर पुन बन्चरे बजार फर्किएर बास बस्ने गरेको इलाका प्रहरी कार्यलय सिंगटीले जानकारी दिए । स्थानीयकाले बिहिबार बेलुका सँगै खानपिन गरेका गाडीका चार जना स्टाफ मध्ये एक जना मात्रै गाडीमै मृत भेटिनु, मृतकको शरिरमा चोटपटक देखिनुका साथै रगत बग्नु, बाँकी ३ जना अन्यत्रै बस्नु र बन्चरे बजारमै पार्किङ नगरी एकान्तजस्तो ठाउँमा लगेर पार्किङ गरिनुले घटना शंकास्पद देखिएको हुदाँ निष्पक्ष छानविनको माग गरिएको हो । घट्ना स्थल सिंगटी इलाका प्रहरी कार्यालयबाट करिब एक किलोमिटर दुरीमा रहेको छ ।