काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार थप तीन जनालाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की रहेका एसएसपी दिनेश आचार्यले जानकारी दिए । यसअघि सिआइबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्कीलाई गत मंगलबार पक्राउ गरेको थियो ।
उनीहरूसँगै प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरेको थियो । उनीहरूले पहिल्यै स्टे अर्डर लिइसकेकाले हुनाले त्यही दिन छाड्न परेको थियो ।
त्यसैगरी, सिआइबीले ललिता निवासको १४३ रोपनी जग्गा हडपेको निष्कर्श निकालेको छ । अहिले प्रहरीले सरकारी जग्गा कीर्ते कसुरमा अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध महाशाखाले जनाएकोछ ।