दोलखा । माथिल्लो तामाकोशी आयोजना प्रबेशमार्ग अन्र्तगत सिंगटी नजिकै पहिरो जादा यातायात पुर्णरुपमा अवरुद्ध भएको छ । लगातारको वर्षासँगै सडकको माथिल्लो भागबाट पहिरो खसेपछि कालिञ्चोक गाउँपालिका–४, स्थित चप्लेटिमा सडक बगाएको हुदाँ यातायात अवरुद्ध भएको हो ।
सो स्थानमा गएराति नै पहिरो खसेपछि सिंगटीबाट चरिकोट आउने र चरिकोटबाट सिंगटी जाने सवारीका साधन चप्लेटिमै रोकिएका छन् । इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक सानु तामाङका अनुसार पहिरोका कारण चप्लेटिका स्थानीयको पाँच वटा घर जोखिममा परेको बताएका छन् । पहिरो खस्नेक्रम नरोकिए अन्य बस्ती पनि जोखिममा पर्ने खतरा रहेको प्रहरी निरिक्षक तामाङले जनाएको छ । बर्षको कारण निरन्तर पहिरो बग्ने भएको हुदा पैदल यात्रुसमेत आवतजावतमा समस्य परेको छ ।
अवरुद्ध सडक सुचारु गराउने प्रयास भइरहे पनि लगातारको वर्षाले माथिल्लो भाग र तल्लो भाग बगेका कारण समस्या भएको छ । सो स्थानमा यसअघि पनि पहिरो खसेर सडक अवरुद्ध भएको थियो । वर्खायाम सुरु भएसँगै माथिल्लो तामाकोशी नदीको आसपास क्षेत्रमा पहिरो जानेक्रम सुरु भएको छ । यसअघि गौरीशंकर गाउँपालिका वडा नं. ८, खारेको मन्थलीमा पहिरो जादाँ दुई घर बगाई सडक अबरुद्ध भएको थियो ।