काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि स्वीकृती पाएको छ । नेपाल धितोपत्र बोर्डले तामाकोशीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि शुक्रबार स्वीकृत दिएको हो ।
तामाकोशीले १ः१ को अनुपात अर्थात १ कित्ता बराबर १ कित्ता शेयर हकप्रद जारी गर्न लागेको हो। कम्पनीले प्रति शेयर एक सय रुपैयाँको दरले हुन आउने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेकोछ । हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।
त्यसैगरी, तामाकोशीलाई विद्ययुत नियमन आयोगले यसअघि नै हकप्रद निष्काशन गर्न स्वीकृत दिइसकेको छ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले शेयर निष्काशन मिति सार्वजनिक नगरे पनि आन्तरिक तयारी गरिरहेको जनाएको छ । शेयर निष्काशनको तयारी पुरा भएपछि सार्वजनिक सुचना जारी गरी हकप्रद शेयर आह्वानको सुचना निकाल्ने कम्पनीले जानकारी दिएको छ ।