काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको हो ।
अन्तिम ग्रेड ‘C’ वा ‘C’ भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ ।
त्यसैगरी, परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ । एसईईको गत २०७९ चैतमा सम्पन्न परिक्षाको नतिजा असार २१ गते सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको नतिजामा २२ हजार चार सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए ।