महानगरभित्र साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध गरिदै

  गाैरीशंकर टाइम्स सम्बाददाता  124 पटक हेरिएको

काठमाडौं । महानगरपालिकाले आगामी साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा निशेध गरिने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट धुम्रपान र मध्यपान सेवनमा निषेधको काम सुरु गर्ने तयारी गरेको हो ।

काठमाडौं महानगरपालिकाले यसलाई क्रमिकरूपमा ३२ वटै वडामा विस्तार गर्ने तयारी गरेको छ । उक्त अभियान कामपा र बानेश्वर व्यापार सङ्घले संयुक्तरूपमा गर्न लागेका हुन् । बानेश्वर व्यापार सङ्घका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै सुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट सुरु गर्ने तयारी गरिएको बताए । आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ उक्त अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले जानकारी दिनुभयो ।

सार्वजनिक स्थानमा धुम्रपान र मद्यपानको सेवन गर्ने र अन्यलाई पनि उत्तिनै असर गर्ने हुनाले निषेधको अभियान सुरु गर्न लागिएको हो । धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिने महानगरले जनाएको छ ।

नेपालमा हरेक वर्ष २० देखि ३० हजार मानिसलाई विभिन्न प्रकारका क्यान्सर हुने तथ्यांकले देखाएको छ । वर्षमा एक पटक स्वास्थ्य परीक्षण गराउने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, नियमितरूपमा शारीरिक व्यायाम तथा योग गर्ने, सिर्जनशील तथा रचनात्मक काममा लाग्ने बानीले क्यान्सर रोगबाट बच्न सकिन्छ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार