काठमाडौं । सोलुखुम्बुबाट काठमाडौका लागि उडेको मनाङ एयरका हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित ६ जनाकै मृत्यु भएको छ । मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित दुर्घटनामा परेको थियो ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो । दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले बताए । उनले एक जनाको शव टुक्राटुक्रा अवस्थामा फेला परेको बताए ।
क्याप्टेन सीबी गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक सवार थिए । हेलिकप्टरमा सवार फर्नान्डो जी सिम्फुएनटेस् र स्माइल रिन्कोन पुरुष तथा साब्ब्रिक्स गोन्जालेक्स, ओलाचुलुक्स गोन्जालेक्स र मारियाजोसे जी सेमेन्टस महिला रहेका छन् ।
उडान भरेको ८ मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो । हराएको कल साइन ९ एन एन एमभी हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको छ । अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरी प्रहरी र स्थानीयले उद्धारको काम जारी राखेका छन् ।