काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिई अन्त्येष्टि गरिएको हो ।
प्रधानमन्त्री प्रचण्डसहित छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरका साथै नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए । दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।
उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए । शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसैगरी, सीता लामो समयदेखि नै विरामी अवस्थामा थिइन् । उनलाई पछिल्लो समय पेटमा पाइप राखेर खाना दिइँदै आएको थियो । उनको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई मंगलबार बेलुकादेखि नै स्वासप्रस्वासमा समस्या देखिएको बताए ।