दोलखा । गौरीशंकर गाउँपालिका–६ चंखु निवासी एक जना महिलाको जंगलबाट ल्याएका विषालु च्याउ खाँदा मृत्यु भएको छ । विशालु च्याउ खादाँ शेपाकी परिवारका ४ जना बालबालिका बिरामी भएका छन् ।
जंगली च्याउ खाँदा चंखुका स्थानीय ३२ वर्षीया सोमलेकी शेर्पाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । असार २३ गते च्याउ खाएर शेर्पासहित परिवारका सदस्यहरु बिरामी परेपछि सिंगटीको रोल्वालिङ सामुदायिक अस्पतालमा पुर्याइएको थियो ।
बुधबार शेर्पाको मृत्युपछि मात्रै अस्पतालले विषालु च्याउ खाएर उपचारका क्रममा मृत्यु भएको प्रहरीलाई जानकारी दिएको थियो । जनशक्तिबिनै अस्पतालले उपचार हुन्छ भन्दै बिरामी राखेको प्रहरीले जनाएको छ ।
घटना जानकारी नदिई उपचाररत बिरामीको मृत्युपछि मात्रै खबर दिएको ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी नायव निरीक्षक सानु तामाङले जानकारी दिए । अन्य ४ बालबालिकालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।