काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरिएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको १३औं नगरसभाको पाँचौं बैठकले आगामी आर्थिक वर्षको बजेटमा छलफल गरी सर्वसम्मत पारित गरेको हो ।
महानगरले आगामी आर्थिक वर्षको लागि गत असार १० गते उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको विनियोजित बजेट नगरसभामा पेश गरेकी थिइन् । महानगरले दश वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले गत आर्थिक बर्ष २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।